
काठमाण्डु, १४ भदौ– काटमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुद्धि विवेकका साथ काम गर्न नगर प्रहरीलाई निर्देशन दिएका छन् ।
नगर प्रहरी बल स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले नगर प्रहरीमा बुद्धि, विवेक र इमान्दारिता आवश्यक पर्ने बताए ।
‘नगर प्रहरी बलले बुद्धि–विवेक पुर्याउनुपर्ने ठाउँमा बुद्धि–विवेक पुर्याउनुहोला । संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील पनि भइदिनु होला । हिम्मतले काम गर्नुपर्ने ठाउँमा हिम्मतिलो पनि भइदिनु होला । इमानदार त सधैं हुनु नै पर्नेछ’, उनले भने ।
नगर प्रहरीले नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको दाबी गरे । नगर प्रहरीको कामबाट महानगरको राजनीतिक नेतृत्व खुसी रहेको उनको भनाइ थियो ।
१ सय ५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न, पार्किङ व्यवस्थापन तथा अवैधानिक संरचना हटाएर सुशासन कायम गराउन नगर प्रहरीको भूमिका प्रशंसनीय रहेको बताए ।
अवैध संरचना र अवैध व्यापारमा अंकुश लगाएर महानगरले सुशासनका पक्षमा गरेको नमुना कामलाई देशभरका पालिकाले अनुसरण गरेको भन्दै उनले खुसी व्यक्त गरे ।