सरकार ढल्छ कि भन्ने चिन्ता मलाई छैनः प्रचण्ड

काठमाण्डु टुडे २०८० भदौ १४ गते १८:५८ मा प्रकाशित

सुर्खेत, १४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थालेको भ्रष्टाचारविरूद्धको अभियान बीचैमा नरोकिने बताएका छन् ।

सुर्खेतमा सामाजवादी मोर्चाद्वारा बिहीबार आयोजित कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्ध प्रस्तुत हुँदा सरकार ढले पनि चिन्ता नभएको बताए । भ्रष्टाचारविरोधी अभियान अघि बढाउने विषयमासरकारका सहभागी दल र मोर्चामा विमति नरहेको उनको भनाइ थियो ।

‘सरकारको तर्फबाट भ्रष्टाचारविरूद्ध अभियान चलाइएको छ’, उनले भने, ‘सरकारले दायाँबायाँ हेर्दैन । सरकार र मोर्चा एकढिक्का भएर यसैमा केन्द्रित छ ।’

प्रचण्डले सामाजिक न्याय, सुशासन र तथा राजनीतिक परिवर्तनका उपलब्धी रक्षाका लागि एजेण्डा मिल्नेहरुबीच मोर्चा बनेको बताए । उनले देश र जनताको पक्षमा काम गर्दा सरकार ढले पनि प्रवाह नरहेको उल्लेख गरे । ‘सरकार कति दिन टिक्छ कि टिक्दैन मलाई टेन्सन छैन’, उनले भने ।

प्रचण्डले भ्रष्टाचारमा संलग्न भए आफ्नो पार्टीका नेता र आफूलाई समेत नछाड्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएको बताए । प्रचण्डले आफ्ना कार्यकर्तालाई जोगाएको भन्ने आरोप लागे पनि त्यो व्यवहारले पुष्नि नगर्ने दाबी उनले गरे ।

‘मैले सिआइबीलाई भनेको छु’, उनले भने, ‘गल्ती गरेको भए मलाई पनि समाउनुस्, अनुसन्धान गर्नुस् ।’ सरकारले राम्रो काम गरिरहेको प्रतिक्रियावादी शक्रिलाई मन नपरेको आरोप उनले लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us