
सुनसरी, १४ भदौ– धरानमा गएराति एक महिलाको हत्या भएको छ ।
इटहरी उपमहानगरपालिका–२ वसन्त टोलकी ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ । जनैपूर्णिमा मनाउन बुधबार दिउँसो धरानस्थित माइत गएकी उनको राति शव भेटिएको हो ।
यसैबीच हत्यामा संलग्न रामेछापका टेकबहादुर दर्जी पक्राउ परेका छन् । उनी धरान–१७ स्थित ससुराली घरमा बस्दै आएका थिए । हत्यापछि दर्जी शव बोकेर जंगलतिर गइरहेको देखेर स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले दर्जीले बयानका क्रममा घटनामा संलग्नता स्वीकार गरेको जानकारी दिए । मल्लका अनुसार मृतक र दर्जीबीच लेनदेन कारोबार रहेको र पैसा फिर्ता मागेपछि दर्जीले हत्या गरेका हुन् ।
परिवारका अनुसार दर्जीले हत्यापछि मृतकले लगाएका सुनका गरगहना लुटेका छन् ।