
काठमाण्डु, १४ भदौ– व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको ललितपुर इमाडोलस्थित ‘कोहीनुर हिल्स हाउजिङ’ लिलाम हुने भएको छ ।
कर्मचारी सञ्चय कोषले बिहीबार एक सूचना जारी गर्दै ऋण र ब्याजसहितको भुक्तानी समयमै नतिरेका कारण लिलामी प्रक्रिया अघि बढाइएको जनाएको छ ।
बस्नेत सहकारीको रकम अपचलन मुद्धामा कालो सूचीमा परेका छन् । हाउजिङको भवन र भवन रहेको सम्पूर्ण जग्गा लिलाम हुने सूचनामा उल्लेख छ । उक्त हाउजिङ सञ्चयकोषको प्रमुख लगानीमा निर्माण सुरु भएको थियो ।
१० रोपनी ९ आना २ पैसा जग्गा र उक्त जग्गामा बनेको कोहीनुर हिल्स हाउजिङका भवनहरुको लिलामी प्रक्रिया सरु भएको कोषद्वारा जारी सूचनामा उल्लेख छ ।
लिलामी सकार्न ३५ दिनको समयसीमा निर्धारण गरिएको सूचनामा छ । बस्नेतले हाउजिङका लागि २३ करोड रुपैयाँ लिएकामा ब्याजसहित करिब १ अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ ।