चीनले नेपाली भूमि भारतमा देखाएको विरोधमा बालेनद्वारा चीन भ्रमण रद्द

काठमाण्डु टुडे २०८० भदौ १४ गते १५:४० मा प्रकाशित

काठमाण्डु, १४ भदौ– काठमाण्डु महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो चीन भ्रमणको कार्यक्रम रद्द गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नराखेको भन्दै बालेनले आफू चीन नजाने बताए । नैतिकताका आधारमा आफू चीन नजाने उनको भनाइ छ ।

चीनको प्राकृतिक स्रोत मन्त्रालयले सोमबार झेजियाङ प्रान्तको देकिङ काउन्टीमा आयेजित एक कार्यक्रममार्फत जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्मियाधुरा, लिपुलेक र कालापानी भारतमा देखाइएको छ ।

नेपालको संसदले २०७७ साल जेठ ७ मा ती क्षेत्र समेटेर सर्वसम्मत रुपमा नयाँ नक्सा प्रकाशित गरेको थियो । बालेनले नेपाली भू–भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भएको टिप्पणी गरे ।

‘आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’, बालेनले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us