प्रचण्डकै अगाडि विप्लवले भनेः यो व्यवस्था ठीक छैन, भत्काउनुपर्छ

काठमाण्डु टुडे २०८० भदौ १४ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले संघीय व्यवस्था खारेज हुनुपर्ने बताएका छन् ।

समाजवादी मोर्चाले बिहीबार सुर्खेतमा गरेको कर्णाली स्तरीय सभालाई सम्बोधन गर्दै उनले यो व्यवस्था रहनेसम्म मुलुकको विकास नहुने दाबी गरे । संसदीय व्यवस्था भत्काएर वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

विप्लवले मुलुकमा प्राप्त राजनीतिक अधिकार माओवादी आन्दोलनका कारण सम्भव भएको बताए । परिवर्तनविरुद्ध प्रतिगामी र पश्चगामी तत्त्वले जनतामा भ्रम फैलाएकाले आफूहरु मोर्चामार्फत संगठित भएको उल्लेख गरे ।

फरक प्रसंगमा उनले विश्व राजनीतिक ध्रुवीकरणको नेपालमा प्रत्यक्ष प्रभाव देदिएको भन्दै देश संकटतर्फ जाने सम्भावना आफूले देखेको जिकिर गरे ।

विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानबाट पछि नहट्न आग्रह गरे । भ्रष्टाचारविरोधी अभियानमा प्रचण्डलाई आफ्नो साथ रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us