महरा बाबुछोरालाई नै पक्रन हिंडेको थियो प्रहरी, तर कसरी छोरा मात्र समातिए ?

काठमाण्डु टुडे २०८० भदौ १४ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले उनकै आग्रहमा तत्कालका लागि पक्राउ नगरेको खुलासा भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सोही प्रकरणमा उनका कान्छा छोरा राहुललाई ललितपुरको खुमलटारस्थित निजी निवासबाट बुधबार पक्राउ गरेको थियो ।

श्रोतका अनुसार महरा बाबुछोरालाई नै पक्रने गरी प्रहरी टोली परिचालित भएको थियो । तर, महराले आफ्नो स्वास्थ्य खराब भएकाले पक्राउ नगर्न आग्रह गरेका थिए ।

पटकपटक मन्त्री र सभामुख भएको आफू कतै नभाग्ने र अनुसन्धानमा सघाउने बताएका थिए । पक्राउ गर्न गएको टोलीका अधिकारीले महराको आग्रहबारे प्रहरी उच्च नेतृत्वलाई जानकारी गराएपछि तत्कालका लागि घरबाट बाहिर ननिस्किने सर्तमा पक्राउ नगर्न आदेश भएको थियो ।

‘मेरो स्वास्थ्य राम्रो छैन । घाँटीको टिभीसहित रोगको औषधि खाइरेहको छु । बोलाएको बेलामा आएर अनुसन्धनमा सहयोग गर्छु भन्नुभएछ’, प्रहरीका एक उच्च अधिकारीले भने, ‘तत्कालका लागि उच्च निगरानीमा रहने र घर छाड्नुपरे अनुमति लिने मौखिक सहमतिमा उहाँलाई छाडिएको हो ।’

यद्यपि महरालाई सुन तस्करी प्रकरणको छानबिन दायरामा राखिएको र बयानका लागि भने बोलाइने उनले बताए ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ केजी सुन तस्करीमा महरा बाबुछोराको नाम मुछिएको छ । उक्त सुन तस्करीका नाइके चिनियाँ नागरिकसँग महरा बाबुछोराको पटकपटक टेलिफोन संवाद भएको देखिएको छ । सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा उनीहरुबीच पटकपटक टेलिफोन संवाद भएको उल्लेख छ ।

प्रतिवेदनमा तस्करसँग कुराकानी भएको देखिएको बताए पनि प्रहरीले महराका बाबुछोरालाई छानबिनको दायरामा नल्याएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनदबाब बढ्दै गएकाले महरा बाबुछोरालाई अनुसन्धानको दायरामा ल्याउन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सिआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यलाई निर्देशन दिएका थिए । तर, मुख्य आरोपी नै फरार रहेको अवस्थामा टेलिफोन कुराकानीको डिटेल मात्र प्रमाणका लागि पर्याप्त आधार नहुने भन्दै महरालाई प्रहरीले छानबिनको दायरामा ल्याएको थिएन ।

महराले छोराको नाममा रहेको मोबाइलबाट सुन तस्करीका नाइके चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक टेलिफोन सम्वाद गरेको सीआईबीको रिपोर्टमा उल्लेख छ । अर्का सुन तस्कर दाओजिन वाङले महरालाई ११ पटक फोन गरेको देखिन्छ । हानहोङ र महराका कान्छा छोरा राहुलबीच २८ पटक टेलिफोन सम्पर्क भएको देखिएको छ ।

यस्तै अर्का तस्कर वाङले राहुललाई ६४ पटक र राहुलले वाङलाई १ सय ३१ पटक टेलिफोन सम्पर्क गरेको सीआईबीले जनाएको छ । भेपमा लुकाएर गत १० पुसमा दुबईबाट ल्याएको ९ केजी सुन छुटाउन महराका बाबुछोराले भन्सार कर्मचारीलाई दबाब दिएको दाबी प्रहरीको छ । तर, कर्मचारीले सुन लिलामी हुने बताए ।

लिलामी प्रक्रिया अघि बढ्दै गर्दा पनि राहुलले पटकपटक टेलिफोन गरेर उक्त प्रक्रिया छिटो सक्न दबाब दिएका थिए । लिलामी प्रक्रिया जारी रहेकै बेला सुन भन्सारको भण्डार कक्षबाट गायब भएपछि घटना थप शंकास्पद भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us