
काठमाण्डु, १४ भदौ– माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी’ अभियान काठमाण्डुको चन्द्रागिरिबाट सुरु गर्नृे भएका छन् ।
गत महिना सकिएको केन्द्रीय समिति बैठकले संगठन विस्तार र सुदृढीकरणका लागि तीन महिने अभियानको घोषणा गरेको थियो । बैठकले सबै नेताको कार्यक्षेत्र तोकेको छ ।
प्रचण्डले सात प्रदेशका सात वटा वडामा प्रत्यक्ष उपस्थित भएर संगठन निर्माण गर्नेछन् । अभियानको कार्यक्षेत्र चन्द्रागिरी नगरपालिका भएका माओवादी युवा नेता एवं सिन्धुपाल्चोक–१ का प्रतिनिसभा सदस्य माधव सापकोटाले अध्यक्ष प्रचण्डले चन्द्रागिरी–२ बाट अभियान शुभारम्भ गर्ने बताए ।
उनले १६ भदौमा अभियानको सुरुआत कार्यक्रम चन्द्रागिरी नगरपालिका–२ बाट सुरु गर्ने भएका हुन् । गत वर्ष भएको स्थानीय तह निर्वाचनमा उक्त वडा माओवादीले जितेको थियो ।
प्रचण्डले अभियान सुरु गरेपछि भर्चुअल माध्यमबाट एकैसाथ ७ सय ५३ वटै पालिकाका कार्याक्रमलाई सम्बोधन गर्ने तय भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।