
काठमाण्डु, १४ भदौ– रसुवाको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल गाोसाइँकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा भक्तजनको घुइँचो लागेको छ ।
मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । गोसाइँकुण्ड समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्ड हो ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार अधिकांश भक्तजन बुधबार साँझै कुण्डस्थलमा बास बस्न पुगेका बताए । केही भने बीचबाटोमा बास बसेर बिहानै तीर्थस्थल पुगेका छन् ।
गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने जनविश्वास रहिआएको छ ।
गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूणिर्माको दिन कुण्डको जलाशयमा फूल प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप गोसाइँकुण्ड पुग्ने चलन रहिआएको छ ।
गोसाइँकुण्ड पुगेका भक्तजनलाई नेपाली सेना, गोसाइँकुण्ड गाउँपालिका, रसुवा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हिमालय उद्धार सङ्घसमेतले चिकित्सक एवं स्वास्थ्यकर्मी परिचालन गरी धुञ्चेदेखि गोसाइँकुण्डसम्म प्राथमिक उपचार सेवा प्रदान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले तीर्थयात्रीको सुरक्षा एवं लेक लागि गम्भीर बिरामी परेका यात्रुको उद्धारका लागि नेपाल प्रहरीका ४०, नेपाली सेनाका ६० र सशस्त्र प्रहरी बलका २० सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।