त्रिवि र विद्यार्थी संगठनहरुबीच सहमति, इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

काठमाण्डु टुडे २०८० भदौ १३ गते २०:४२ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धिको निर्णय फिर्ता हुने भएको छ ।

आन्दोलनरत विद्यार्थी संगठनका प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयबीच बुधबार सहमति भएसँगै वृद्धि भएको शुल्क फिर्ता हुने भएको हो । विद्यार्थी संगठनहरु र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीच पाँचबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

सहमतिमा त्रिविले इन्जिनियरिङ अध्ययन संस्थानलाई वृद्धि गरिएको फिर्ता लिन निर्देशन दिने सहमतिमा उल्लेख छ ।

यस्तै शुल्कबारे अध्ययन गर्न विद्यार्थीका प्रतिनिधिसमेत संलग्न समिति गठन गर्ने र त्यसको सुझावका आधारमा नयाँ शुल्क निर्धारण गरिने पनि सहमतिमा छ । यस्तै विद्यार्थी संगठनहरु हाल स्थगित भएका परीक्षा सुचारु गराउन र आमरण अनसनसहित घोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन विद्यार्थी संगठनहरु राजी भएका छन् ।

सहमतिपत्रमा त्रिविका तर्फबाट उपकुलपति प्रा.डा. धर्मकान्त बासकोटा, शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसाल, रजिष्ट्रार प्रा.डा. पेशल दाहाल, डिन प्रा. भार्गव धिताल, डिन प्रा.डा.डिल्लीराज शर्माले हस्ताक्षर गरेका छन् ।

आन्दोलनरत विद्यार्थी संगठनका तर्फबाट नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, नेकपा एकीकृत समाजवादी सम्वद्ध अखिलकी अध्यक्ष आरती लामा, जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव र विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका प्रकाश सीले हस्ताक्षर गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us