राहुल महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाण्डु टुडे २०८० भदौ १३ गते १८:५४ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– जिल्ला अदालत काठमाण्डुले सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पुत्र राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबईबी) ले राहुललाई ललितपुरको खुमलटारस्थित घरबाटै बुधबार पक्राउ गरेको थियो ।

उनलाई विद्युतीय चुरोट (भेप) लुकाएर गरिएको ९ केजी सुन तस्करीका नाइके चिनियाँ नागरिकसँग साँठगाँठ रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले राहुलविरुद्ध संगठित अपराधमा अनुसन्धान गर्ने तयारी गरेको छ ।

भेपमा लुकाएर सुन ल्याउने चिनियाँ तस्कर लुई हानसोङ र दाओजिन वाङसँग महरा बाबुछोराको पटकपटक टेलिफोन संवाद भएको प्रतिवेदन सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा यसअघि नै बुझाएको छ । उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारमाथि चौतर्फी दबाब थियो ।

महरा बाबुछोरालाई छानबिन दायरामा नल्याएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना हुँदै आएको छ । राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक टेलिफोन सम्पर्क गरेको देखिएको छ । सीआईबीले ८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न प्रतिवेदनमा उल्लेख छ ।

महरा बाबुछोराले जफत भएको सुन छाडिदिन त्रिभुवन विमानस्थल भन्सारका अधिकारीलाई दबाब दिएको पनि सीआईबीले जनाएको छ । आरोपितहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले गत २६ असारमा जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।

महरा बाबुछोरालाई अहिलेसम्म अनुसन्धानको दायरामा ल्याइएको थिएन । महराले केही समयअघि जारी गरेको विज्ञप्तिमा वाङ सुन तस्कर नभई फलफूल व्यापारी रहेको र उनीसँग विगत १० वर्षभन्दा बढी समयदेखि पारिवारिक सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

भन्सार अधिकारीलाई टेलिफोन गरेको स्वीकार गर्दै उनले सुन नभई अन्य वस्तु भन्ने ठानेर सहजीकरणका लागि भनेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us