
काठमाण्डु, १३ भदौ– प्रहरीले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पुत्र राहुललाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हाइहाई भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राहुललाई बुधबार ललितपुरको खुमलटारस्थित निवासबाटै पक्राउ गरेको थियो । सुन तस्करी प्रकरणमा आफ्नालाई जोगाएर अरुलाई मात्र कारबाहीको दायरामा राखेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको यसअघि आलोचना हुँदै आएको थियो ।
बुधबार भने सामाजिक सञ्जालमा सरकारको कदमको धेरैले प्रशंसा गरेका छन् । तर, तस्करसँग पटकपटक कुराकानी भएको देखिएका पूर्वसभामुख महरालाई पक्राउ नगरिएकामा भने असन्तुष्टि जनाउनेहरु पनि छन् । यद्यपि महरालाई प्रहरीले बोलाएका बेला उपस्थित हुने गरी घरमै अघोषित नजरबन्दमा राखेको छ ।
लेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ९ किलो सुन ल्याउने चिनियाँ तस्कर लुई हानसोङ र दाओजिन वाङसँग महरा बाबुछोराको सम्बन्ध रहेको खुलेको थियो । उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारमाथि चौतर्फी दबाब थियो ।
महरा र उनका दुवै छोरासँग चिनियाँ तस्करको पटकपटक टेलिफोन संवाद भएको प्रतिवेदन सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
तर, महरा बाबुछोरालाई छानबिन दायरामा नल्याएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।