
काठमाण्डु, १३ भदौ– प्रहरीले सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पुत्र राहुललाई थुनामा राखेर अनुसन्धान गर्ने भएको छ ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको खुमलटारस्थित निवासबाटै बुधबार पक्राउ गरेको थियो ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको तस्करीको ९ केजी सुन प्रकरणमा महरा बाबुछोरा मुछिएका थिए ।
राहुललाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमतिका लागि सीआईबीले जिल्ला अदालत काठमाण्डुमा पेश गरेको छ । सीआईबीका एक उच्च अधिकारीले राहुललाई तस्करी र संगठित अपराधमा अनुसन्धान गरिने बताए ।
लेक्ट्रिक सिगरेट ण्भेप) भित्र लुकाएर ९ किलो सुन ल्याउने चिनियाँ तस्कर लुई हानसोङ र दाओजिन वाङसँग महरा बाबुछोराको सम्बन्ध रहेको खुलेको थियो ।
उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारमाथि चौतर्फी दबाब थियो । महरा र उनका दुवै छोरासँग चिनियाँ तस्करको पटकपटक टेलिफोन संवाद भएको प्रतिवेदन सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
तर, महरा बाबुछोरालाई छानबिन दायरामा नल्याएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । सीआइृबीले जिल्ला सरकारी वकिलसमक्ष बुझाएको प्रतिवेदनमा राहुललाई सुन तस्कर वाङले ६४ पटक र राहुलले वाङलाई १ सय ३१ पटक टेलिफोन सम्पर्क गरेको उल्लेख छ । सीआईबीले ८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न प्रतिवेदनमा उल्लेख छ ।
महरा बाबुछोराले जफत भएको सुन छाडिदिन त्रिभुवन विमानस्थल भन्सारका अधिकारीलाई दबाब दिएको पनि सीआईबीले जनाएको छ । आरोपितहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले गत २६ असारमा जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।
महरा बाबुछोरालाई अहिलेसम्म अनुसन्धानको दायरामा ल्याइएको थिएन । महराले केही समयअघि जारी गरेको विज्ञप्तिमा वाङ सुन तस्कर नभई फलफूल व्यापारी रहेको र उनीसँग विगत १० वर्षभन्दा बढी समयदेखि पारिवारिक सम्बन्ध रहेको उल्लेख गरेका छन् ।
भन्सार अधिकारीलाई टेलिफोन गरेको स्वीकार गर्दै उनले सुन नभई अन्य वस्तु भन्ने ठानेर सहजीकरणका लागि भनेको बताएका छन् ।