महरा पुत्र राहुल पक्राउ, तर फेसबुकमा किन दिए गलत सूचना ?

काठमाण्डु टुडे २०८० भदौ १३ गते १६:४१ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका कान्छा छोरा पुत्र राहुल सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा नाम मुछिएका महरालाई ललितपुरको खुमलटारस्थित निवासबाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्दै गर्दा राहुलले आफू स्वयं अनुसन्धानलाई सहयोग गर्न सीआईबीमा उपस्थित भएको भन्दै सामाजिक सञ्जालमा गलत सूचना दिएका छन् । उनले आफूहरुका विरुद्ध कथित ठूला मिडियाले मिडिया ट्रायल गरेकाले बयानमा सघाउन आफैं सीआईबीमा उपस्थित भएको दाबी उनको थियो ।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ९ किलो सुन ल्याउने चिनियाँ तस्कर लुई हानसोङ र दाओजिन वाङसँग महरा बाबुछोरा सम्बन्ध रहेको खुलेपछि उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारमाथि चौतर्फी दबाब थियो । महरा र उनका दुवै छोरासँग चिनियाँ तस्करको पटकपटक टेलिफोन संवाद भएको प्रतिवेदन सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

तर, महरा बाबुछोरालाई छानबिन दायरामा नल्याएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको समाचार बािहरिएको छ । सीआईबीले ८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न प्रतिवेदनमा उल्लेख छ ।

महरा बाबुछोराले जफत भएको सुन छाडिदिन त्रिभुवन विमानस्थल भन्सारका अधिकारीलाई दबाब दिएको पनि सीआईबीले जनाएको छ । आरोपितहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले गत २६ असारमा जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।

महरा बाबुछोरालाई अहिलेसम्म अनुसन्धानको दायरामा ल्याइएको थिएन । महराले केही समयअघि जारी गरेको विज्ञप्तिमा वाङ सुन तस्कर नभई फलफूल व्यापारी रहेको र उनीसँग विगत १० वर्षभन्दा बढी समयदेखि पारिवारिक सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

भन्सार अधिकारीलाई टेलिफोन गरेको स्वीकार गर्दै उनले सुन नभई अन्य वस्तु भन्ने ठानेर सहजीकरणका लागि भनेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us