
काठमाण्डु, १३ भदौ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृषणबहादुर महरालाई प्रहरीले घर नछोड्न भनेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा नाम मुछिएका महरालाई अनुमतिबिना बाहिर ननिस्कन भनेको हो ।
बाहिर जानुपरे अनुसन्धान अधिकृतको पूर्वस्वीकृति लिनुपर्ने सर्त सीआईबीले महरालाई सुनाएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए ।
महरा ललितपुरको खुमलटारस्थित निवासमा बस्दै आएका छन् । इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ९ किलो सुन ल्याउने चिनियाँ तस्कर लुई हानसोङ र दाओजिन वाङसँग महराको सम्बन्ध रहेको खुलासा भएको छ ।
महरा र उनका दुवै छोरासँग तस्करको पटकपटक टेलिफोन संवाद भएको प्रतिवेदन सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
तर, महरा बाबुछोरालाई छानबिन दायरामा नल्याएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । ‘अत्यावश्यक परेका अनुमति लिएर मात्र घरबाहिर जान उहाँलाई भनिएको छ’, सीआईबी अधिकारीले भने, ‘उहाँ हाम्रो छानबिनमा हुनुहुन्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरा बाबुछोरालाई अनुसन्धान दायारामा ल्याउन निर्देशन दिए पनि प्रमाण नपुग्ने भन्दै प्रहरी पन्छँदै आएको थियो ।