एमसीसीबारेको मतभेदले समाजवादी मोर्चाको सभा स्थगन

काठमाण्डु टुडे २०८० भदौ १३ गते ११:०९ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– समाजवादी मोर्चाले धनगढीमा आज गर्ने भनिएको सभा स्थगित गरेको छ ।

अन्तिम समयमा आएर सभा स्थगित हुने खबर आएको माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले जानकारी दिए । माथिबाट सभा स्थगित भएको जानकारी आएको उनले बताए ।

सभा स्थगन हुनुको कारणबारे जानकारी नभएको उनको भनाइ छ । श्रोतका अनुसार तयारी नपुगेका कारण सभा स्थगन भएको हो ।

सभा व्यवस्थापनको जिम्मेवारी नेकपा एकीकृत समाजवादीले पाएको थियो । मोर्चाको अध्यक्ष पनि सोही पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन् ।

सभालाई प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी अध्यक्ष नेपाल, जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी सदस्य राजकिशोर यादव र नेकपा महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने कार्यक्रम थियो । समाजवादी मोर्चाले यसअघि ८ भदौमा वीरगञ्ज र मंगलबार बुटवलमा सभा गरेको थियो ।

कार्यक्रम स्थगन हुनुको कारण अमेरिकी सहायताको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) परियोजना पनि भएको बुझिएको छ ।

मोर्चा घटक विप्लव नेतृत्वको नेकपा एमसीसीको विरोधमा छ । एमसीसी सम्झौताको कार्यान्वयन आजबाट हुने र विप्लवले कार्यक्रमबाटै विरोध गर्न सक्ने भएकाले पनि सभा स्थगन गरिएको दाबी श्रोतको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us