एक्लै क्रान्ति गर्न नसक्ने भएपछि मोर्चामा आयौंः विप्लव

काठमाण्डु टुडे २०८० भदौ १२ गते १८:२६ मा प्रकाशित

बुटवल, १२ भदौ– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एउटा पार्टीले मात्र लडेर जनताको विजय प्राप्त गर्न सम्भव नभएकाले समाजवादी मोर्चामा सामेल भएको बताएका छन् ।

मोर्चाद्वारा मंगलबार बुटवलमा आयोजित सन्देश सभामा बोल्दै उनले हजारौं वर्षदेखि जरा गाडेर बसेको सामन्तवादको अन्त्य गरी पूजीवादी क्रान्ति सम्पन्न गरे पनि अब समाजवादी क्रान्तिका लागि मोर्चा आवश्यक परेको बताए ।

नेपालमा दलाल पूँजीवादको अन्त्य गरी जनताको समाजवाद स्थापना गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आफ्नो पार्टीले भन्दै आएको वैज्ञानिक समाजवाद अहिले सम्भव नभए पनि नेपाली विशेषतासहितको समाजवाद मोर्चाको साझा बिन्दु भएको उल्लेख गरे ।

मोर्चा बनाउन प्रधानमन्त्री प्रचण्डले ठूलो जोखिम मोलेको उल्लेख गर्दै विप्लवले जनताको एकता मन नपराउने तत्वहरु बढारिएर जाने चेतावनी दिए । मोर्चा सम्बद्ध दलहरु समस्यारहित नभए पनि अहिले नेपालमा सबैभन्दा अग्रगामी शक्ति समाजवादी मोर्चा रहेको दाबी उनले गरे ।

नेपाल स्वाधीन बन्दै गएको उल्लेख गर्दै उनले त्यो विदेशीहरुलार्र्इ मन नपरेको बताए । महासचिव विप्लवले प्रधानमन्त्री प्रचण्डलाई सरकारबाट लड्न आग्रह गर्दै जनताको लागि आफूहरु सडकबाट साथ दिन तयार रहेको बताए ।

सरकारले सुशासनको पक्षमा गरेका काममाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै उनले सरकारले गरेका कामको विरोध गर्नेहरु परिवर्तनविरोधी भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us