
बुटवल, १२ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन् ।
समाजवादी मोर्चाद्वारा मंगलबार बुटबलमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा समन्तवाद ब्युँताउन कसैबाट पनि केही हुन्न भन्दै निराशा बाँड्न खोजिएको उल्लेख गर्दै प्रचण्डले निराशा बाँड्न थालिएको उनको भनाइ थियो ।
‘नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु । लडाईंको रुप फेरिएको छ तर लडाइँ जारी छ । त्यसमा विश्वस्त रहन सबैमा म अपिल गर्न चाहन्छु’, उनले भने ।
प्रधानमन्त्रीले आफूहरु जटिल परिस्थितिमा पनि राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चितता कसरी गर्ने भन्नेमा लागिपरेको बताए ।
धेरै अप्ठ्याराहरुको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको बताए ।
अहिले पनि पूँजीपतिहरुले वर्तमान गणतन्त्रलाई फाँसीवादी, दलालहरुको गणतन्त्र वा गणतन्त्र नै उल्ट्एर सामन्ती तत्वहरुसँग सम्झौता गर्न चाहिरहेको उल्लेख गरे ।
दुई पक्षबीचको लडाइँ सुरु भएको भन्दै उनले त्यसका लागि आफूहरुले विशाल शक्ति सञ्चय गर्नुपर्नेबेला आएको बताए । त्यसका लागि मित्रहरुका साथै मोर्चामा इमान्दारीपूर्वक लाग्नुपर्ने उनले उल्लेख गरे । मोर्चा घोषणाले मात्र नपुग्ने बरु प्रतिक्रियावादी अझै षडयन्त्र गरेर जान्छन् भने यिनै नेताहरु लाखौं जनताको सडकमा नेतृत्व गरेर ती सबै शक्तिहरुलाई परास्त गर्न सक्ने उनको चेतावनी थियो ।
प्रतिक्रियावादीहरुले जातीय, धार्मिक सद्भाव भड्काएर वा जे गर्न सकिन्छ गरेर भए पनि परिवर्तन उल्ट्याउन चाहेको उल्लेख गरे । ‘प्रतिक्रियावादीहरुलाई गाउँका श्रमिक जनताका छोराछोरी आएर सरकार चलाएको पाच्य भएको छैन । उनीहरु कुनै पनि शर्तमा परिवर्तन उल्ट्याउन चाहन्छन्’, उनले भने,
‘संविधानको अंग बनिसकेको शान्ति सम्झौतालाई लत्यार मुद्दा चलाउँदै शान्ति प्रतिक्रिया बिथाल्न चाहन्छन् तर हामी भने निरन्तर अघि बढ्नुपर्छ ।’ समाजवादी मोर्चा सरकार, सदन र सडकबाट एकैसाथ अघि बढ्ने उल्लेख गर्दै प्रचण्डले प्रक्रियावादीहरु परिवर्तनविरुद्ध लागिरहे लाखौं जनता सडकमा उतार्ने चेतावनी दिए ।
आफू यसपटक समाजवादी क्रान्तिकै लागि सरकारमा गएको स्पष्ट गर्दै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत आफूले लडाइँ सुरु गरिसकेको बताए ।
क्रान्तिकारीहरु विभाजित हुँदा क्रान्तिको अपमान गर्नेहरु हावी हुन खोजेको उल्लेख गर्दै उनले क्रान्तिकारीहरुबीच वाद र विवादको चरण समाप्त भएर संवादको चरण सुरु भएकाले अब समाजवादी आन्दोलनका लागि क्रान्तिकारीहरु पुनः एक भएर अघि बढ्न थालेको बताए ।