
गुल्मी, १२ भदौ– उपचारका लागि अस्पताल भर्ना गरिएकी बालिकाको मृत्यु भएपछि चिकित्सकमाथि कुटपिट भएको छ ।
घटनाको विरोधमा चिकित्सक र स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।
छत्रदेव गाउँपालिका–७ की ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनालाई लिएर मृतकका आफन्तले अस्पताल प्रमुख डा। राजेन्द्र जिसीमाथि हातपात गरेका थिए । चिकित्सकको लापबारहीले बालिकाको ज्यान गएको आरोप आफन्तको छ ।
घटनाछि विज्ञप्ति जारी गर्दै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल कर्मचारीले सुरक्षाको वातावरण नभएकाले नियमित सेवा दिन नसक्ने उल्लेख गरेका छन् ।
दोषीलाई कारबाही तथा सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म आकस्मिक बाहेकका सेवा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले त्यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा मागेका छन् ।
यसैबीच प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको मध्यस्थतामा समस्या समाधान गरी अस्पतालको सेवा सुचारु गराउनेबारे सम्वद्ध पक्षबीच छलफल भएको छ ।