
काठमाण्डु, १२ भदौ–सांसदहरुमाथि पटकपटक लाग्ने गरेको आरोप हो । भत्ता खाने, काम नगर्ने ।
हुन पनि सांसदहरुका आफ्नै व्यवहारले उनीहरुमाथि प्रश्न उठ्ने गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि त्यस्तै भयो । प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तरको पहिलो कार्यसूची थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदका १२ प्रश्नको सामना गरे । उनले सबै प्रश्नका एकएक जवाफ दिए र समाजवादी मोर्चाले बुटवलमा गरेको सभालाई सम्बोधन गर्न हतारहतार बाहिरिए । प्रधानमन्त्री बाहिरिएपछि दलीय आधारमा सांसदहरुले विशेष समयमा बोल्ने क्रम चल्यो । त्यसपछि कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० लाई विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरे ।
त्यसअघि भएको सैद्धान्तिक छलफलमा सांसदहरुले अपराधलाई राजनीतिकरण गर्ने गरी विधेयक ल्याइएको भन्दै सरकारको आलोचना गरेका थिए ।
खास गरी सशस्त्र गतिविधिमा संलग्न समूहले हिंसा त्यागेर मुलधारको राजनीतिमा आउन चाहे गम्भीर अपराधमा संलगन भए पनि उन्मुक्ति पाउने प्रावधानमा अधिकांश सांसदले विरोध गरे ।
गगन थापासहित सत्ता पक्षकै सांसदले समेत त्यसमा विमति जनाए । जब मन्त्री गुरुङले विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गनुपर्ने बेला आयो तब गणपुरक संख्या नपुगेर संसद स्थगित भयो ।
सभामुख देवराज घिमिरेले मन्त्री गुरुङलाई विचार गरिया्स् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिइसकेका थिए । मन्त्री गुरुङ प्रस्ताव राख्ने अन्तिम तयारीमा थिए । तर, एमाले सांसद ठाकुर गैरे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा गणपुरक संख्या नपुगेको भन्दै संख्या गन्नुपर्ने माग राखे । गणपुरक संख्या अर्थात संसदमा तत्काल कायम सदस्य संख्याको एक चौथाई सदस्य उपस्थित नभए संसदमा कुनै पनि प्रस्ताव राख्न पाइँदैन ।
सांसदहरुको मागपछि सभामुख घिमिरेले ३ मिनेट घण्टी बजाएर सांसदको संख्या यकिन गर्दा गणपरक संख्या पुगेन । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्न ६९ जना सांसद उपस्थित हुनैपर्छ । तर, मंगलबार ५९ सांसद मात्र बैठकमा उपस्थित थिए ।
मंगलबार प्रतिनिधिसभा बैठकमा हाजिर गर्ने सांसदको संख्या २ सय २० रहेको रेकर्डबाट देखिन्छ । तर, विधेयक प्रस्तुत गर्ने बेलामा जम्मा उपस्थित संख्या ५९ मात्र । सांसदले एकपटक हाजिर गरेपछि बैठक भक्ता र सवारी साधन भक्ता पक्का हुन्छ । हाजिरी पुस्तिका हेर्दा कानून बनाउने जिम्मेबारी छाडेर हिंड्ने सांसदको संख्या १ सय ६१ जना देखाएको छ ।
संविधानको धारा ९४ मा प्रतिनिधिसभामा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथार्इ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ ।