
काठमाण्डु, ११ भदौ– प्रतिनिधिसभाका १० विषयगत समितिले आज नेतृत्व पाउँदैछन् ।
निर्वाचन भएर संसदले काम थालेको ७ महिना र गठन भएको ४ महिनापछि समितिहरुले बल्ल सभापति पाउन लागेका हुन् । सभापति चयनमा दलहरुबीच कुरा नमिल्दा ज्येष्ठ सदस्यले बैठकको अध्यषता गर्दै आएका थिए ।
समिति सभापतिका लागि आइतबार मनोनयन दर्ता भएको थियो । १० मध्ये ९ समितिमा एकल र एउटा समितिमा दुई जनाको उम्मेदवार परेको छ । एकल उम्मेदवारी परेका समिति सभापति निर्विरोध निर्वाचित हुनेछन् ।
दुई जनाको उम्मेदवारी परेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि निर्वाचन गरिने संघीय संसद् सचिवालयले जनाएको छ । उक्त सममितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्जवपा) का गणेश उप्रेती र जनमत पार्टीका अब्दुल खानले उम्मेदवारी दिएका छन् । खानलाई सत्ता गठबन्धन र एमालेको समर्थन छ ।
दलहरूबीच १० मध्ये कांग्रेसले तीन, एमालेले दुई, माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा र जनमत पार्टीले एकएक समितिको नेतृत्व लिएका छन् ।
कांग्रेसबाट आरजु राणा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समिति र सन्तोष चालिसे अर्थ समिति सभापतिमा निर्विरोध हुँदैछन् । प्रमुख प्रतिपक्षी एमालेका ऋषिकेश पोखरेल सार्वजनिक लेखा समिति, र एमालेकै किरणकुमार साहले महिला तथा सामाजिक समिति सभापति बन्दैछन् ।
यस्तै माओवादी केन्द्री विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार समिति, जसपाका राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति। एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा र जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा राप्रपाका दीपक सिंह पूर्वाधार विकास समितिको सभापति बन्ने भएका छन् ।