कुन संसदीय समिति सभापतिमा कसको उम्मेदवारी ?

काठमाण्डु टुडे २०८० भदौ १० गते १५:५१ मा प्रकाशित

काठमाण्डु, १० भदौ– प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समितिको सभापति चयनका लागि भोलि हुने निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

समितिको सभापतिका लागि कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले उम्मेदवरी दिएका छन् ।
संघीय संसद् सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जना र बाँकीमा एकल उम्मेदवारी परेको छ ।
काँग्रेसबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा आरजु राणा देउवा, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र सन्तोष चालिसेले अर्थ समिति सभापतिमा उम्मेदवारी दिएका छन् ।
एमालेबाट सार्वजनिक लेखा समिति सभापतिमा ऋषिकेश पोखरेल, महिला तथा सामाजिक समितिमा किरणकुमार साहले उम्मेदवारी दिएको संसद सचिवालयले जनाएको छ ।

यस्तै सत्तारुढ माओवादी केन्द्रकी विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार समिति, जसपाका राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उम्मेदवारी दर्ता गरेका छन् । पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपक सिंहले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको अन्तिम समयमा आएर उम्मेदवारी हालेका हुन । सत्ता गठबन्धनबीचको भागमण्डामा सो समितिको सभापति माओवादी केन्द्रको भागमा परेको थियो । माओवादीले सांसद माधव सापकोटालाई सभापति उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाका सांसद गणेश पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् । अरु समितिमा समर्थक र प्रस्तावक नपुग्ने भएका कारण रास्वपाले एक समितिमा मात्र उम्मेदवारी दिएको हो । सो समितिमा रास्वपाका तीन सांसद छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us