
काठमाण्डु, १० भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ ।
पराजुलीलाई सभापति उम्मेदवार बनाउने तयारी भएको रास्वपाका एक सांसदले जानकारी दिए ।
१० विषयगत समिति सभापति चयनका लागि भोलि हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।
प्रमुख चार दलले आफूलाई निषेध गरेर सभापतिमा भागबण्डा गरेपछि असन्तुष्ट रास्वपाले उपस्थितिका लागि भए पनि उम्मेदवारी दिने निर्णय शनिबार गरेको थियो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाका तीन सांसद छन् ।
१० विषयगत समितिमध्ये कांग्रेसले चार, एमालेले तीन, माओवादी केन्द्रले एक, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले एक सिट पाउने गरी भागबन्डा भएको छ ।