
काठमाण्डु, ९ भदौ– राष्ट्रिय जनमोर्चाले धरानमा सामाजिक सद्भाव कायम गर्ने नाममा दमनको सहारा नलिन सरकारसँग आग्रह गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गर्दै समाजिक सद्भाव कायम राख्न प्रशासन वा दमनको सहारा नलिन भनेका हुन् । आपसी संवादबाट समस्या समाधान गर्न उनले आग्रह गरे ।
‘विभिन्न धर्मावलम्बी तथा जातजातिका स्थानीय बासिन्दाहरुले आपसी सामाजिक सद्भाव कायम राख्न र त्यसलाई बिथोलिन नदिन अपिल गर्दछौँ’ केसीले भनेका छन्, ‘सरकारलाई पनि सामाजिक सद्भाव कायम राख्न प्रशासन वा दमनको साहारा नलिन आपसी सम्झाई बुझाई सम्वादको माध्यमद्वारा समस्यालाई समाधान गर्न जोड दिन्छौँ ।’
बहुधर्म, बहुभाषा तथा बहुसंस्कृति भएको मुलुकमा आपसी एकताले नै राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्न सकिने ठहर जनमोर्चाको छ ।
केसीले केही साम्राज्यवादी शक्तिहरुले नेपालमा जातजातिबीच द्वन्द्व तथा अन्तरविरोध पैदा सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्न षड्यन्त्र गरेको आरोप लगाए ।
‘नेपाललाई विखण्डनको दिशामा लैजाने साम्राज्यवादी षड्यन्त्रका विरुद्ध सतर्क हुनपर्नेमा जोड दिन्छौँ’, केसीले विज्ञप्तिमा भनेका छन ।