काठमाण्डु, ९ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन् ।
पार्टी सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकमा शनिबार बोल्दै नेपालले संसद खुलाउन बसेको सर्वदलीय बैठकमा ओलीकै कारण आफूहरु सहभागी हुन नपाएको गुनासो गरे । सुन तस्करी प्रकरण छानबिनमा आफूहरुको पनि चासो रहेको भन्दै नेपालले बैठकमा सहभागी हुनै नदिने ओली प्रवृत्ति निन्दनीय भएको टिप्पणी गरे । ‘हामी पनि जनताबाट जितेर आएका हौं, तर संसदमा हाम्रो उपस्थिति ओलीले स्वीकार गर्न सकेका छैनन्’, नेपालले भने । एमाले अध्यक्ष ओलीले माधव नेपालसँग बैठकमा नबस्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरण छानबिनका लागि जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी छलफलमा सो पार्टीलाई बोलाएका थिएनन् । माधव नेपाललाई रोक्न राष्ट्रिय मान्यताप्राप्त दलहरुको मात्र बैठक बसेको थियो ।
नेपालले ओलीले आफूलाई विगतमा राष्ट्रपति बन्न प्रस्ताव नगरेको बताए ।
‘केपी ओलीले राष्ट्रपति चुनावका बेला भेटेका थिए । तर, उनले राष्ट्रपति पदको प्रस्तावै राखेका थिएनन्’, नेपालले भने, ‘बाहिर आएर राष्ट्रपति बन्न प्रस्ताव राखेको भनेर झुठो कुरा गरे ।’ यद्यपि आफूलाई माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति प्रस्ताव गरेको भए पनि आफूले अस्वीकार गरेको नेपालको भनाइ थियो । भर्खरै विद्रोह गरेर बनाइएको पार्टी अलपत्र पारेर राष्ट्रपतिमा जान आफूलाई इच्छा नलागेको नेपालले उल्लेख गरे ।