
काठमाण्डु, ९ भदौ– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार अन्त्य गरी मुलुकमा सुशासन कायम गर्ने अभियानमा लागेको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा खड्काले भ्रष्टाचार अन्त्य गर्ने संकल्पमा सरकार प्रतिबद्ध भएर लागेको बताए । कांग्रेस सरकारमा गएपछि भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको अभियान थप बलियो बनेको उको भनाइ थियो ।
‘सुशासन, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा अभियानको रुपमा एउटा संकल्पसहित हामी सरकारमा गएपछि पूर्ण संकल्पसहित सरकार अघि बढेको छ,’ उनले भने ।
सुशासनका लागि बाधक सरकारी संयन्त्रमा विद्यमान कमीकमजोरी सुधार्न मुख्यसचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको टोली कार्ययोजना निर्माणमा व्यस्त रहेको जानकारी खड्काले दिए ।
भदौ महिनाभित्र कार्ययोजना तयार पारी मन्त्रिपरिषदबाट पास गरेर सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरुलाई सुशासनको कार्ययोजना घेराभित्र ल्याइने उनले बताए ।