
हुम्ला, ९ भदौ– हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ ।
सडक यात्रायातमा नजोडिएको हुम्लामा हवाई यातायात रोकिँदा जनजीवन प्रभावित भएको थियो ।
लगातारको वर्षातका कारण मौसम खराबीले हुम्लासहित कर्णालीका अरु जिल्लामा पनि हवाई उडान नियमित हुन सकेको थिएन । गत आइतबारदेखि हुम्लामा एउटा पनि हवाई उडान भएको थिएन ।
मौसममा सुधार भएसँगै शनिबार बिहान समिट एयरले नेपालगञ्जबाट पहिलो उडान भरेको थियो । समिट, सीता र तारा एयरले हुम्लामा उडान भरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए ।
हवाई सेवा सञ्चालन भएसँगै हुम्लामै रोकिएका र बाहिरबाट आउने यात्रुलाई सहज भएको छ । हवाई उडान सुचारु भएसँगै जिल्लामा दैनिक उपभोग्य वस्तु भित्रिएका छन् ।
हरेक दिन बिहान पानी पर्ने र दिउँसो हावा लाग्ने समस्याका कारण पाँच दिनयता हुम्लामा हवाई उडान हुन नसकेको हो । सिमकोटबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोटका लागि टिकट काटेका यात्रु पाँच दिनदेखि अलपत्र परेका थिए ।