धरान प्रकरणबारे रवि लामिछानेः सामाजिक सञ्जालमा आएका कुराको पछि नलागौं

काठमाण्डु टुडे २०८० भदौ ९ गते १३:३२ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक र सद्भाव भड्काएर राजनीतिक रोटि सेक्ने काम स्वीकार्य हुन नसक्ने बताएका छन् ।

पार्टीद्वारा शनिबार टोखामा आयोजित कार्यक्रममा उनले धरानमा सामाजिक र जातिय सद्भाव कायम राख्न आग्रह गरे । जातीय क्षेत्रीय, तथा धार्मिक द्वन्द्वको भूमरिमा मुलुकलाई धकल्ने काम कसैले पनि गर्न नहुने उनको भनाइ थिया ।

जातीय सदभावमा पेट्रोल खन्याएर ठूला भ्रष्टाचार काण्डबाट जनताको ध्यान अन्यत्र मोड्ने प्रयास भइरहेको आरोप लामिछानेले लगाए । प्रमुख राजनीतिक सुन तसकरी, ललितानिवास जग्गा प्रकरणसहित ठूला भ्रष्टाचार काण्डलाई विषयान्तर गर्न सक्रिय रहेको टिप्पणी उनले गरे ।

‘जातीय सदभाव भड्काउन पाइयो भने भ्रष्टाचारका काण्डहरू सामसुम र थामथुम हुन्छ होला भनेर त्यतातिर आगो झोसिरहेका छन्,’ उनले भने, ‘खबरदार त्यो आगोमा पेट्रोल र मट्टितेल हाल्ने काम कसैले नगर्नु होला ।’

लामिछानेले समाजिक सद्भाव कायम गर्न आफू पानी हाल्न तयार रहेको बताए । ‘सद्भाव खल्बल्याउने, एक अर्काको बीचमा बैमनस्यता खडा गर्ने र त्यसबाट राजनीतिको रोटी सेक्ने काम कसैले पनि गर्न हुँदैन’, उनले भने ।

समाजको सद्भाव खलबल्याउनेबाट सचेत हुनुपर्ने भन्दै उनले सामाजिक सञ्जालमा लेखिएका कुराको पछि लाग्न नहुने बताए । एक समुदाय र अर्को समुदाय, एक जाती र अर्को जाती एकअर्काको दुश्मन नभई भ्रष्टाचार, बेथिति, गरिबी, अशिक्षा र बेरोजगारी सबैको साझा दुश्मन भएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us