
सुनसरी, ९ भदौ– धार्मिक हिंसाको खतरा बढेपछि लगाइएको निषेधाज्ञाका कारण धरानको वातावरण शनिबार शान्त बनेको छ ।
विभिन्न नाका भएर धरान उपमहानगर प्रवेश गर्न स्थानीय प्रशासनले रोक लगाएको हो । गोरु काटेर खाएको र हिन्दू मन्दिर नजिकै चर्चा बनाएको भन्दै विभिन्न हिन्दूवादी संस्थाले प्रदर्शन आयोजना गरेपछि धरानमा हिंसा भड्किने चिन्ता सर्वत्र थियो ।
सोही अवस्थालाई ध्यान दिन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टासम्म धरान नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । मानिसहरुलाई भित्रबाट बाहिर जान दिइए पनि नगर क्षेत्रमा बाहिरबाट प्रवेश रोकिएको छ ।
धरान प्रवेश गर्ने प्रमुख नाका, बजारका मुख्य चोक र सडकमा ठूलो संस्थामा प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकका सुरक्षाकर्मीको तैनाथी छ ।
धरान क्षेत्रमा शान्ति सुरक्षालाई चुनौती दिने र हिंसा भड्काउने कुनै प्रकारको गतिविधि नरहेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।
प्रमुख राजनीतिक दल र धरान उपमहानगरपालिकाका मेयर हर्कबहादुर साम्पाङले सामाजिक सदभाव बचाउन संयम रहन सबैलाई अपिल गरेका छन् ।