
काठमाण्डु, ७ भदौ– कांग्रेस नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा संलग्न प्रहरी अधिकारीहरुको सरुवा गरेकामा नेतृत्वप्रति गम्भीर आपत्ति जनाएका छन् ।
काँग्रेस रुपान्तरण अभियानका सात नेताले बिहीबार विज्ञप्ति जारी गर्दै प्रहरी सरुवामा आपत्ति जनाएका हुन् । भ्रष्टाचार प्रकरण अनुसन्धान गरिरहेका प्रहरी अधिकारीलाई अस्वाभाविक रुपमा सरुवा गरिनुले निष्पक्ष छानबिनमाथि नागरिक तहमा गम्भीर प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले नक्कली भुटानी शरणार्थी, ललिता निवास र क्विन्टल सुन तस्करी प्रकरणलाई निष्पक्ष रुपमा अघि बढाएर तार्किक निस्कर्षमा पु-याउन सरकारसँग माग गरेका छन् । भ्रष्टाचारका घटना छानबिनमा नेतागत र पार्टीगत लेनदेन, साँठगाँठ वा पक्षधरता मान्य नहुने चेतावनी उनीहरुले दिएका छन् ।
सरकारले भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका एसएसपीद्वय काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र जिल्ला प्रहरी परिसर काठमाण्डु प्रमुख दामबहादुर कार्कीको सरुवा गरेको थियो । उनीहरुलाई काँग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको दबाबमा सरुवा गरिएको हो ।
त्यसअघि मन्त्रिपरिषदले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको पनि सरुवा गरेको थियो ।
विज्ञप्ति जारी गर्नेहरुमा कांग्रेस रुपान्तरण अभियानका नेताहरु मधु आचार्य, डा।गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, रञ्जित कर्ण, देवराज चालिसे, भुपेन्द्रजङ्ग शाही, भरतबहादुर खड्का र सुवास लोहनी छन् ।