
काठमाण्डु, ६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ६० किलो सुन तस्करी प्रकरणबारे आफूसँग सूचना भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबार विशेष समय लिएर बोल्दै लामिछानेले सुन तस्करी प्रकरणका केही बिचौलियाको सूचना आफूसँग रहेको बताए । तर, लामछिानेले सरकारका मानिसहरु नै पक्राउ परेका अभियुक्तहरुको सम्पर्कमा रहेको दाबी गरे । ती व्यक्ति महानिर्देशक भने पनि उनले कुन निकायको माहानिर्देशक हुन भन्ने खुलाएनन् ।
‘सरकारका एक वहालवाला महानिर्देशकले सुन आएको कुराको जानकारी अहिले समातिएका दावा नाम गरेका व्यक्तिलाई दिएका छन्,’ उनले भने, ‘ती महानिर्देशकले फोटोसमेत पठाएको जानकारी इमान्दार केही देशभक्त प्रहरीहरूले विश्वास गरेर मलाई दिएका छन् । म तिनलाई सलाम गर्न चाहन्छु । जसले देशलाई माया गरेर यो सूचना दिएका छन् ।’
लामिछानेले त्यस प्रकरणमा संलग्न बिचौलियाहरुको सूचना आफूसँग रहेको र उक्त सूचना सम्बन्धित निकायलाई उपलब्ध गराउने बताए । त्यससम्बन्धी समाचार लुकाउन लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्ति नै लागिपरेको लामिछानेले बताए ।
लामिछानेले सुन प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा लामासँग पूर्वप्रहरी प्रमुखको समेत संवाद भएको भेटिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहेको उल्लेख गरे ।
लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको तस्करी छानबिन प्रभावित हुन सक्ने आशंका गरे । लामिछानेले सीआईबीप्रति शंका नरहे पनि बारम्बार दोषी उम्काउन सक्रियहरुप्रति भने आफूलाई शंका लागेको बताए ।