ठूला मान्छे समात्ने बेलामा सीआईबीको गाडीमा ब्रेक लाग्योः एमाले

काठमाण्डु टुडे २०८० भदौ ६ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– एमाले सचिव योगेश भट्टराईले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सरकारले निष्पक्ष काम गर्न नदिएको आरोप लगाएका छन् ।

झण्डै एक महिना लामो अवरोधपछि बुधबार खुलेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर भट्टराईले ६० केजी सुन प्रकरण र ललीता निवास जग्गा प्रकरणमा सरकारको हस्तक्षेपका कारण प्रहरीले काम नगरेको आरोप लगाए ।

आफूहरुलाई सीआईबीसहित राज्यका सबै निकायप्रति भरोसा रहे पनि सरकारको दबाबले ती निकायको काममा विश्वस्त हुने अवस्था नरहेको उनको भनाइ थियो ।

भ्रष्टाचार प्रकरण छानबिनमा ठूला मानिसहरुलाई समात्नुपर्ने समयमा सीआईबीको गाडी अन्यत्र मोडिने वा ‘यू टर्न’ हुने गरेको आरोप भट्टराईले लगाए । ‘ललीतानिवासमा सीआईबीको गाडी ठीक ठाउँमा पुगिरहेको हुन्छ ।

जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ र तब गाडी मोडिन्छ वा ‘यू टर्न’ हुन्छ’, उनले भने, सीआईबीले ठीकै छानबिन गर्ला भनेको तर केही उच्च पदस्थ नेताको नाम आएपछि सीआईबीको गाडीमा ब्रेक लाग्यो, हामीलाई झस्का पस्यो ।’

भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको निर्भिकतापूर्वक अनुसन्धान गर्ने प्रहरी अधिकृतहरुलाई सरकारले सरुवा गरेकामा पनि आपत्ति जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us