एमालेले साउन १० पछि अवरुद्ध संसद बैठक आज चल्न दिने

काठमाण्डु टुडे २०८० भदौ ६ गते ७:४९ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– १० साउनयता एमाले अवरोधका कारण पटकपटक अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दैछ ।

एमालेको मागअनुसार ६० केजी सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने घोषणा गर्न सरकार तयार भएपछि संसदको अतिरोध अन्त्य हुने भएको हो ।

सोमबार राति राष्ट्रिय मान्यताप्राप्त दलहरुको सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरण छानबिनका लागि आयोग बनाउने सहमति भएको थियो ।

सहमतिमा हस्ताक्षर गर्न यसअघि मंगलबार तय भएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओली स्वास्थ्यलाई कारण देखाउँदै उपस्थित भएनन् । आज सर्वदलीय बैठक बसेर आयोग गठनको घोषणा हुने नेताहरुले बताएका छन् ।

दलहरुबीचको सहमतिमा ढिलाई भएपछि मंगलबार संसद बैठक सूचना टाँसेर आजका लागि स्थगित गरिएको थियो । संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न तीन बजे बैठक बस्ने तय भएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

यस्तै सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने विषय पनि कार्यसूचीमा छ ।
सभामुख घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिमा सदस्यको नाम हेरफरे गर्ने तथा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने विषय पनि आजको बैठकको कार्यसूची छ ।

एमाले सचेतक महेश बर्तौलाले आज बैठक बस्ने सम्भावना रहको बताए । त्यसअघि सुन तस्करी छानबनिका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनको घोषणा हुने उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us