काठमाण्डु, ३ भदौ– सभामुख देवराज घिमिरेले लगातार संसद अवरुद्ध भएका कारण जनतामा नकारात्मक सन्देश प्रवाह भएको बताएका छन् ।
प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरुसँग सिंहदरबारमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । उनले बैठकमा नेकपा एकीृकत समाजवादीलाई भने बोलाएनन् ।
समाजवादीको प्रतिनिधिसभामा १० सांसद छन् । तर, समानुपातिकतर्फको निर्वाचन प्रणालीअन्तर्गत ३ प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा उक्त दलले राष्ट्रिय दलको मान्यता पाएको छैन ।
बैठकमा एमालेले ६० केजी सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म बैठक चल्न नदिने अडान दोहो-याएको छ । सत्तारुढ काँग्रेस, माओवादी केन्द्र लगायत दलका प्रमुख सचेतकले भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरिरहेकाले समिति गठन जरुरी नभएको बताए ।
सभामुख घिमिरेले आफूले धेरैपटक प्रयास गरे पनि दलहरु सकारात्मक नहुँदा बैठक चलाउन नसकेको बताए । लगातारको अवरोधले आमजनतामा सांसदहरु भत्ता मात्र खान्छन् भन्ने नकारात्मक सन्देश गएकोबारे दलहरु गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।