
काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी रानजीतिमा आउन नहुने बताएका छन् ।
पार्टी मुख्यालय च्यासलमा आइतबार पत्रकार सम्मेलन गरेर ओलीले विद्यालाई राजनीतिमा ल्याउन नहुने बताए । एमालेमा समस्या ल्याउन सकिन्छ कि भन्ने प्रयास स्वरुप विद्यालाई पार्टीमा फर्काउने प्रयास भएको उनको भनाइ थियो ।
ओली निकट नेताहरु कर्णबहादुर थापा, गोकुल बाँसकोटालगायत भण्डारीलाई पार्टी राजनीतिमा फर्काउन सक्रिय छन् । ओलीले पार्टी नेताहरुले भण्डारीलाई भेट्दैमा अन्यथा अर्थ लगाउन नमिल्ने तर्क गरे ।
‘हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि ? ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ’, उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि उहाँ हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो । हाम्रो पार्टीको उपाध्यक्ष हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व हो । हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरै होइन । विष्णु पौडेलजीले मात्रै होइन मैले पनि कुरा गरेको छु । अरुले पनि कुरा गर्नुभएको छ ।’
ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नुको अर्थ सक्रिय राजनीतिमा आउन निम्तो दिएको अर्थमा नबुझ्न आग्ह गरे । ‘कार्ड छपाएर लिएर जानुभयो रे पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्न भन्ने खालको । यो खालका प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ’, ओलीले भने ।
एमाले एकताबद्ध भएका बेला हल्लाका पछि नलाग्न पार्टी पंक्तिलार्इ आग्रह गरे । एमाले विभाजनको ठूला प्रयाससमेत असफल पारिएको भन्दै ओलीले अहिले भएका हल्लाले कुनै प्रभाव नपर्ने बताए ।
२०७९ फागुन २८ मा दोश्रो कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी बुढानिलकण्ठस्थित निवासमा बस्दै आएकी छन् । भण्डारीले एमाले कार्यकर्तासँग राजनीतिक वार्ता गर्दै आएकी छन् ।