सरकार धेरै दिन नटिक्न सक्छः कोइराला

काठमाण्डु टुडे २०८० साउन २७ गते १५:१२ मा प्रकाशित

काठमाण्डु, २७ साउन– कांग्रेस नेता शेखर कोइरालाले भ्रष्टाचार अन्त्य र सुशासनको प्रत्याभूति दिलाउन नसके सरकार धेरै दिन नटिक्ने बताएका छन् ।

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा कोइरालाले भ्रष्टाचार अन्त्य नभएसम्म मुलुक नबन्ने बताए । आफूनिकट सांसद डा. सुनिल शर्मा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेपछि कोइराला सरकारसँग रुष्ट छन् ।

भारतबाट आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर एमबीबीएस अध्ययन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले शर्मासहित ८ जनालाई बिहीबार पक्राउ गरेको थियो ।

प्रहरीले म्याद थपका लागि उपस्थिति गराएकामा काठमाण्डु जिल्ला अदालतले शर्मालाई बाहिरै राखेर र पक्राउ परेका अरुलाई थुनेर अनुसन्धान गर्न निर्देशन दिएको थियो । शर्मा शुक्रबारै रिहा भइसकेका छन् ।

कोइरालाले वैदेशिक लगानी ल्याउने वातावरणका लागि समेत भ्रष्टाचार अन्त्य हुनुपर्नेमा जोड दिए ।

अमेरिकाको पछिल्लो वैदेशिक नीतिसम्बन्धी रिपोर्टमा नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याइएको उनले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us