एमालेसँग मिल्दो प्रस्ताव राख्दै बाबुरामले भनेः भ्रष्टाचार छानबिन आयोग बन्नुपर्छ

काठमाण्डु टुडे २०८० साउन २७ गते १३:४९ मा प्रकाशित

काठमाण्डौं २७ साउन– पूर्वप्रधनमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय सतहमा आएको ठूला भ्रष्टाचार काण्डहरुको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउन माग गरेका छन् ।

सुर्खेतमा शनिबार सञ्चारकर्मीसँग भट्टराईले आयोग गठन हुनुपर्ने बताए । प्रमुख प्रतिपक्षी एमालेले क्विन्टल सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग राखेर लगातार संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेसँग मिल्दोजुल्दो प्रस्ताव भट्टराईले पनि अघि सारेका छन् । भट्टराई र अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी भूमाफियाको नाममा सारिएको विषयमा छानबिन गर्न सर्वोच्च अदालतले केही दिनअघि फैसला गरेको थियो । भट्टराईले आफ्नो मन्त्रिपरिषदले त्यसबारे सानो निर्णय मात्र गरेको भन्दै छानबिनमा सघाउन तयार रहेको बताए ।

‘पछिल्लो समय पनि भ्रष्टाचारमा कमी आएको छैन । प्रत्येक वर्ष ठूला काण्ड बाहिर आएका छन्,’ भट्टराईले भने, ‘यसलाई एउटाएउटा काण्ड मात्र छानबिन गर्ने होइन । उच्चस्तरीय छानबिन आयोग बनाएर समग्र रुपमा सबै घटनाको निष्पक्ष छानबिन गर्नुपर्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अत्यन्तै कमजोर भएकाले आयोगलाई संसदप्रति जिम्मेवार हुने गरी कार्यादेश परिवर्तन गरिनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us