कपनमा खहरे खोलामा महानगरले चलायो डोजर

काठमाण्डु टुडे २०८० साउन २६ गते १८:१५ मा प्रकाशित

काठमाण्डु, २७ साउन- काठमाण्डु महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ ।

आज काठमाण्डु महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हो। महानगरले बिहीबार नै सो क्षेत्रमा डोजर चलाउन खोजेको थियो ।

तर खोला खन्ने विषयमा बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरको टोली पछि हटेको थियो ।शुक्रबार चावहिलस्थित नापी कार्यालयमा नक्सा सहित दुवै पक्षको उपस्थितिमा बसेको बैठकमा खहरे खोला खोल्ने विषयमा सहमति भएको हो ।

धोबी खोलादेखि साततल्ले सम्मको खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको छ । यस्तै धोबिखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो र साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाण्डु महानगरपालिकाले पुल निर्माण गर्ने सहमति भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us