
काठमाण्डु, २१ साउन– नेकपा एकीकृत समाजवादीले पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा लेख्न रोक लगाएको छ ।
आइतबार बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले अनुशासनको सीमा नाघेर पार्टी नीति र निर्देशनको अवज्ञा गरी सामाजिक सञ्जालमा धारणा राखे विधानअनुसार कारबाही हुने चेतावनी दिएको छ ।
‘अहिले पार्टी र पार्टी सम्बद्ध जनसंगठनमा आवद्ध कतिपय व्यक्तिले सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुशासनको सीमा नाघेर बोल्ने र लेख्ने गरेको पाइएकाले त्यस प्रकारले बोल्ने र लेख्ने काम नगर्न यो बैठक निर्देशन गर्दछ,’ बैठकपछि विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका नीति र निर्देशनको अवज्ञा भइरहेमा पार्टी विधान अनुसार कारबाही हुने व्यहोरा स्वतः सिद्ध छ ।’
बैठकले तराई क्षेत्रमा सुख्खा खडेरी परी धान रोपाइँ हुन नसकेकाले त्यस क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी प्रभावित किसानहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।
मुलुकका विभिन्न भागमा बाढी पहिरो गई जनधनको ठूलो क्षति भएकाले बाढी(पहिरोबाट प्रभावित जनतालाई उद्धार र राहत प्रदान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
भारत उत्तराखण्डको रुद्रप्रयाग गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धार कार्यमा उच्च प्राथमिकता दिनसमेत सो पार्टीले सरकारसँग माग गरेको छ ।
मुलुकभर फैलिएको लम्पी स्किन रोगबाट ठूलो संख्यामा पशुचौपायाको मृत्यु भएर क्षति भोगेका किसानहरूलाई राहत दिन सरकारसँग माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।