कोशीमा उद्धब थापा फेरि मुख्यमन्त्री बन्दै, माओवादीबाट गौतम र आचार्य मन्त्री

काठमाण्डु टुडे २०८० साउन १६ गते ८:४९ मा प्रकाशित

काठमाण्डु, १६ साउन– कोशी प्रदेशमा काँग्रेसका उद्धव थापा पुनः मुख्यमन्त्री बन्ने भएका छन् ।

सभामुख बाबुराम गौतमले राजीनामा दिने भएपछि सत्ता गठबन्धनसँग तत्कालका लागि सरकार बनाउन बहुमत पुग्छ । गठबन्धनले थापालाई नै मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिसकेको छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा सत्तारुढ र विपक्षी गठबन्धनको ४६/४६ सांसद छन् । माओवादीबाट सभामुख निर्वाचित गौतमले राजीनामा दिएपछि सत्ता गठबन्धनको पक्षमा ४७ जना हुनेछन् ।

सत्तापक्षमा काँग्रेसका २९, माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ सांसद छन् । गौतमको राजीनामा पछि भने माओवादीको एक सांसद बढ्ने भएकाले कार्कीको पक्षमा ४७ सांसद हुनेछन् । तर, एक महिनापछि मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना भने अत्यन्तै कम छ । सभामुखसमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापा सर्वोच्च अदालथतको आदेशमा गत साता पदमुक्त भएका थिए ।

सर्वोच्चले एक साताभित्र संविधानको धारा (७६) २ अनुसार बहुमतीय सरकार गठनको समयसीमा ताकेको थियो । सोहीअनुसार प्रदेश प्रमुख पर्शराम खापुङले सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।
श्रोतका अनुसार सभामुखबाट राजीनामा दिन लागेका गौतम पनि मन्त्री बन्नेछन् । यस्तै प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाईं जीवन आचार्य फेरि मन्त्री बन्ने भएका छन् । आचार्य यसअघि थापा नेतृत्वको सरकारमा आर्थिक मामिलामन्त्री थिए ।

सत्ता गठबन्धनका दलहरुले पुनः काँग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्रीमा अघि सार्ने तयारी गरेका छन् । किनकी त्यतिबेला एमालेले उपसभामुखको राजीनामा गराउन सक्छ । त्यसो हुँदा बैठकको अध्यक्षता काँग्रेसका गयानन्द मण्डलले गर्नुपर्ने अवस्था आउँछ । फेरि पनि बराबरीको कोशीको राजनीति गोलचक्करमा फस्ने देखिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us