
काठमाण्डु, १२ साउन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग नेकपा एमालेको एकता हुनै नसकेको बताएका छन् ।
आज जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताए ।उनले नेकपा निर्माणपछि पनि प्रचण्डले आफ्नो पार्टी जीवितै राखेको आरोप लगाए।
ओलीले भने, ‘माओवादीसँग एकता भनिए पनि वास्तविक एकता भएन । तेल एकातिर पानी अर्कोतिर भयो । मिक्स अप नै हुन सकेन हुनै दिइएन । प्रचण्डले आफ्नो पार्टीका बैठकहरु गरिरहे ।
आफ्नो पार्टी जीवितै राखिरहे ।’ ‘उनले पार्टीमा हिसाबकिताब बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले । एमालेको रकम खाए, पिए सबै गरे । तर, एमालेमा एक पैसा दाखिल गरेनन् । हिसाब पनि दाखिला गरेनन्, कार्यालय पनि दाखिला गरेनन् ।
बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन् । सबै आफैंसँग राखे’-ओलीले भने