युवतीसँगको अवैध सम्बन्धका कारण बर्खास्तीमा परे चिनियाँ विदेशमन्त्री

काठमाण्डु टुडे २०८० साउन ९ गते २२:३३ मा प्रकाशित

एजेन्सी– चीनका विदेशमन्त्री छिन काङ बर्खास्तीमा परेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले परराष्ट्रमन्त्री काङलाई मंगलबार बर्खास्त गरेको समाचार एजेन्सीहरुले बताएका छन् । काङ पछिल्लो एक महिनायता सार्वजनिक रुपमा देखिएका थिएनन् । ग्लोबल टाइम्सका अनुसार काङको ठाउँमा सीले वाङ यीलाई पुनः विदेशमन्त्रीमा नियुक्त गरेका छन् ।

गत जुन २५ मा रूसी उपविदेशमन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भएको भेट वार्तापछि काङ सार्वजनिक रूपमा देखिएका छैनन् । जुलाई पहिलो साता काङ र युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलबीचको भेटवार्ता अन्तिम समयमा आएर बेइजिङले स्थगन गरेको थियो ।

एक टेलिभिजन पत्रकारसँगको अनैतिक सम्बन्धका कारण काङलाई बर्खास्त गरिएको अपुष्ट सूचना छ । न्युयोर्क टाइम्सले उनको बर्खास्ती युवतीसँगको सम्बन्धका कारण भएको उल्लेख गरेको छ ।

तर, चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रपति सीको सचिवालयले बर्खास्तीको स्पष्ट कारण खुलाएको छैन । राष्ट्रपति सीका विश्वासपात्र काङ गत अक्टोबरमा सम्पन्न सीपीसीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us