पुलबाट खेलामा ट्रक खस्यो, चालक च्यापिए

काठमाण्डु टुडे २०८० साउन ३ गते ९:१० मा प्रकाशित

दाङ, ३ साउन– पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको शिवखोलामा पुलबाट ट्रक खसेको छ । लमही नगरपालिका–९ स्थित शिवखोलामा बिहान पौने ५ बजे ट्रक खसेको हो ।

लु१ख ४६०९ नम्बरको ट्रक भैरहवाबाट मल लिएर नेपालगञ्ज जाँदै गर्दा पुलबाट खसेर खोलामा पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्रकका चालक भित्रै च्यापिएका छन् ।

उनलाई बाहिर निकाल्ने उद्धारकार्य जारी छ । ट्रकका रूपन्देहीको लुम्बिनी संस्कृत नगरपालिका–६ का ३८ वर्षीय बसन्त लोहनियाले चलाएका थिए ।

सह–चालक लुम्बिनी संस्कृत नगरपालिका–७ का १८ वर्षीय प्रदीपकुमार लोहनीयाले हाम फालेर ज्यान बचाएका छन् । प्रहरीका अनुसार डोजर र फलाम काट्ने मेसिनको सहायतामा सिटमै च्यापिएका चालकलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us