
काठमाण्डु, २ साउन- नेपाली कांग्रेस रूपान्तरण अभियानले पार्टीलाई प्रतिवेदन बुझाएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन समय लिएका थिए । तर, सभापति देउवा केन्द्रीय कार्यालयमा पुग्न ढिलाई गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको हो।
‘मुख्य सचिवमार्फत सभापतिलाई प्रतिवेदन बुझाएका छौं,’ अभियानका अगुवा जगदिश्वर नरसिंह केसीले भने । पत्रमा कांग्रेसलाई समयसापेक्ष सुधार नगरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोधन नगरिए पार्टी सदस्यहरूमा झनझन निराशा बढ्दै जाने निश्चित रहेको उल्लेख छ ।
यस्तै पार्टीको लोकप्रिय जनाधार खस्किँदै जाने निश्चित रहेको उल्लेख छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रतिवेदन बुझ्न नमानेपछि उनीहरुले मुख्यसचिवलाई बुझाउनु परेको हो ।
पार्टी रुपान्तरणका लागि २९ बुँदे प्रतिवेदन बुझाइएको छ । जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको थियो ।