
काठमाण्डु, १ साउन– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुस्करबीचको विवाद सतहमा आएको छ ।
मोदीले समयमै कार्यालय नआएको आरोपमा शुक्रबार सचिव पुस्करको हाजिरीमा रातो रेजा लगाएपछि उनीहरुको झगडा बाहिर आएको हो । मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गएका बेला मोदीले पुस्करको हाजिरीमा रेजा लगाएका हुन् ।
आफू काम विशेषले मुख्यसचिवकोमा गएकाले हाजिरी गर्न दिन सचिव पुस्करले आग्रह गरेका थिए । तर, आफूलाई नसोधी मुख्यसचिव भेट्न गएको भन्दै मोदीले हाजिरी गर्न नदिएको सामान्यका एक सह–सचिवले जानकारी दिए । ‘सचिवज्यूले मुख्यसचिवज्युकोमा काम परेर गएको बताउँदा पनि हाजिरी गर्न दिनुभएन’, ती सह–सचिवले भने । सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएसँगै माओवादी केन्द्रका एक मन्त्री हट्ने चर्चा थियो ।
हट्न सक्ने सम्भावितमा मोदी पनि थिए । २७ असारमा जनमत पार्टीका तर्फबाट मन्त्रीको सपथ हुने र एक माओवादी मन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले हटाउने तयारी थियो । सोही दिन तर, प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएका कारण मन्त्रिपरिषदको हेरफेर केही दिन पछि धकेलिएको छ ।
मोदीमाथि कर्मचारी सरुवामा आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएको छ । प्रतिनिधिसभा बैठकमा बेलाबेला सांसदहरुले समेत कर्मचारी सरुवामा आर्थिक चलखेल भएको आरोप लगाउँदै आएका थिए ।
सचिव पुस्करले आफू मुख्यसचिवले बोलाएको सचिवहरुको बैठकमा सहभागी भएको बताएका छन् । त्यसबारे मोदीलाई पूर्वजानकारी भएर पनि आफ्नो हाजिरीमा रेजा लगाएको भन्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा गुनासो गरेका छन् । ‘मुख्यसचिवसँग प्रधानमन्त्री कार्यालयमा भएको जानकारी हुँदाहुँदै मोदीले सचिवको हाजिरीमा रेजा लगाउनु निन्दनीय हो’, सामान्यका अर्का एक कर्मचारीले भने ।
उनका अनुसार मोदीले आर्थिक वर्षको अन्तिममा केही कर्मचारी सरुवा गर्न सचिवलाई दबाब दिएका थिए । तर, आर्थिक वर्षको अन्तिममा कर्मचारी सरुवा गर्न नहुने अडान सचिव पुस्करको थियो ।
मन्त्रालयका प्रवक्ता सहसचिव कमलप्रसाद भट्टराईले सचिव पुष्कर मोदीलाई जानकारी दिएरै मुख्यसचिवसँगको बैठकमा सहभागी हुन प्रधानमन्त्री कार्यालय गएको बताए । सचिवको कामको मूल्याङ्कन मन्त्रीले नभई मुख्यसचिवले गर्ने भन्दै कर्मचारी वृत्तमा मोदीको आलोचना भएको छ ।