काठमाण्डु ,२७ असार- अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
बुधबार जिल्ला अदालत काठमाण्डुले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो।
युट्युबर एवं कलाकारहरू जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा (जिडी), बेगम नेपाली (भटभटे माईला), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा (पिके भाइन्स( पवन खतिवडा) पक्राउ परेका थिए।
उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ ।उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ ।
जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ ।
यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।सरकारी वकिलले अभियुक्त खड्का र धितालविरूद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कसुर गरेको भन्दै उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो माग गरेको थियो।