कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश सपना मल्लको इजलासमा

काठमाण्डु टुडे २०८० असार २७ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, २७ असार- कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेसी तोकिएको छ ।

गत शुक्रबार दर्ता भएको उक्त रिट निवेदनमा चौथो पटक पेसी तोकिएको हो । उक्त रिटको सुनुवाइका लागि तोकिएका पेसी हेर्न नभ्याइने’ भन्दै स्थगित हुँदै आएका छन् ।

कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक तवरले मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै उत्प्रेषणमार्फत खारेजीको मागदाबी सहित दायर गरेको रिटमा यसअघि तीन पटक पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेको छैन ।

थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेको भन्दै एमालेले त्यसविरुद्ध रिट दायर गरेको थियो ।निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

रिटमा एमालेले सो प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ। रिटमा हालै नियुक्त भएका मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख गौतमलाई विपक्षी बनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us