पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रको भ्रमणमा निस्किए मन्त्री ज्वाला

काठमाण्डु टुडे २०८० असार १६ गते ७:३९ मा प्रकाशित

काठमाण्डु, १६ असार– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पूर्वी नेपालको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन् ।

उनी शुक्रबार प्राविधिकहरूको टोलीसहित पूर्वी नेपालको बाढीग्रस्त स्थानहरूको भ्रमणमा निस्किएका हुन् । ३ असारको अविरल बर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङ, संखुवासभा, पाँचथरलगायत पूर्वी नेपालका जिल्लाहरूमा ठूलो क्षति पुर्‍याएको थियो ।

मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल पनि बगाएको थियो । अधिकांश सडकखण्ड अवरूद्ध भएका थिए ।

हेवा खोला पुल बगाएको २ दिनभित्र बेलिब्रिज निर्माणको काम थालिएको थियो । हेवाखोलामा डाइभर्सन बनाएर मेची राजमार्ग सुचारु पनि भएको थियो । तर फेरी बाढी आउँदा डाइभर्सन बगाएको छ ।

अहिले हेवा खोलामा बेलिब्रिज निर्माणको काम तीव्ररुपमा भइरहेको छ । मन्त्री ज्वाला निर्माणाधीन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको दुई दिने स्थलगत भ्रमणका लागि पूर्वी नेपाल प्रस्थान गरेका छन् ।

मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेललगायत प्राविधिकको टोली पनि भ्रमणमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us