१३ दिनपछि भेटियो बाढीमा बेपत्ता एक जनाको शव, १९ अझै बेपत्ता

काठमाण्डु टुडे २०८० असार १६ गते ७:३५ मा प्रकाशित

संखुवासभा, १६ असार– संखुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ ।

टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए ।

चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फेला परेको शव खाँदबारी जिल्ला अस्पतालमा शवपरीक्षणका लागि ल्याइएको उनले बताए ।

फेला परेको शव पाँचखपन नगरपालिका–७ का ३३ वर्षीय भुवनसिं तामाङकी श्रीमतीले आफन्तको भएको जिकिर गरे पनि पुष्टि हुन सकेको छैन । बाढी पहिरामा परेका अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढी पहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढी पहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us