पोखरामा बढ्यो प्याराग्लाइडिङ शुल्क

काठमाण्डु टुडे २०८० असार १५ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, १५ असार- पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ। नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो।

हालसम्म प्रतिउडान आठ हजार पाँच सय रुपैयाँ शुल्क तिर्दै आएकामा अबदेखि प्रतिउडान १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ।नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईका अनुसार उक्त शुल्कमा बीमा रकम र पाइलटको खर्च समाहित गरिएको छ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनी बताउँछन्।पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ। यही कारणले खर्च बढेको भट्टराईले बताए।

अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको छ हजार रुपैयाँ हाराहारीमा प्राप्त गर्ने नाका पूर्वउपाध्यक्ष सोभित बानियाँले बताए। उनले भने,

‘पहिला रु तीन हजार नौ सय पाउँथे।’नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन्। तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए। सबै कम्पनीमा गरी तीन सय ७५ लाइसेन्सप्राप्त प्याराग्लाइडिङ पाइलट छन्। हाल दुई सय ५० पाइलट सेवामा रहेको उनले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us